लौ सुन... म भन्छु मेरो रामकहानी...
मेरो नाम टिकाराम गौतम । कस्तो बेकारको नाम... मलाई यस्तै लाग्थ्यो । कमसेकम नाम राख्नुअघि विचार पुर्याउनु पर्दैन ? पक्कै यो मेरो नाम राख्नुमा कि त न्वारान गर्ने पण्डितको गल्ती छ, कि त मेरा बा आमाको । मेरो नाम मात्रै टिका तर फिका... कुनै रंग छैन, जीवनका रंगहरु बिना टिका कसरी रंगीन हुन सक्छ ? जीवनका रंगहरु भर्न त कला हुनुपर्यो नि । मलाई केही कला पनि नदिने भगवान पनि उस्तै । टिका नाम भएका मान्छेको प्रोफाइल हेरेँ, टिका भण्डारी बरिष्ठ संगीतकार, रेडियो नेपालमा जागिरे त्यो पनि डेपुटी डाइरेक्टर जस्तो पदमा । उनका फ्यानहरु देश बिदेशमा कति हो कति... टिका पहाडी बरिष्ठ कलाकार, टेलिचलचित्र, सेल्युलाइड चलचित्र गरेर सयौँ चलचित्रमा अभिनय... कहिले राजेश हमालको बा, कहिले निखिल उप्रेतीको ससुरा, कहिले सुनिल थापाको ज्वाई । उनलाई चिन्ने पनि कति हुन् कति । म बबुरो... कास्कीको कोलेलीमा जन्मेपनि, काहूँखोला बसेर कालिकाको कुनामा कुद्दैमा जिन्दगी जाला जस्तो भइसक्यो ।अँ साँच्ची, थर चाहिँ गौतम । गौतमहरुको प्रोफाइल हेरेँ । कुलचन्द्र गौतम, राष्टि्य अन्तर्राष्टि्य रुपमा ख्याति प्राप्त व्यक्तित्व, संयुक्त राष्टसँघको महासचिव पदकै दाबेदार पहिलो नेपाली । बामदेब गौतम, नेपाली राजनीतिका चर्चित नेता, जति पटक गृहमन्त्री हुन्छन् उति चर्चामा । म गौतम... गाउँमा जन्मेर गोठालो गर्दैमा गतिलो मान्छे हुनै नपाई यो गति...। म पनि टिका भन्डारी, टिका पहाडी जस्तो हुन किन नसकेको... कुलचन्द्र गौतम, बामदेब गौतम जस्तो किन हुन नसकेको... मलाई धिक्कार लाग्यो ।
म यस्तै यस्तै पिडाले छट्पटिरहँदा आजभन्दा ठिक एकवर्ष अघि पोखराको रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर दिपेन्द्र श्रेष्ठसँग साक्षात्कार गर्ने चाँजोपाँजो मिल्यो । वहाँले मलाई आर्ट अफ स्पिकिङको बहानामा आर्ट अफ लिभिङ सिकाइदिनुभयो । वहाँले भन्नुभयो, "सकारात्मक सोचका साथ अगाडी बढेको खण्डमा हात खुट्टा नहुने व्यक्तिले त जीवनमा हरेश नखाई अगाडी बढ्न सक्छन् भने, हामीसँग त सबथोक छ ।" हामीसँग नभएको कुरा हैन, भएको कुराबाट सोच्न वहाँले नै सिकाउनुभयो ।
त्यसपछि मैले फेरी अरु टिकारामहरुको खोजी गरेँ । कैलाली टिकापूरका टिका चौधरी टन्टलापूर घाममा टिनको ट्याङ्की बनाउने काममा खटिँदा रहेछन् । सालघारी संखुवासभाका टिकाराम सापकोटा सिमलका काठ चिर्दै सास्ती खेप्दै रहेछन् । पर्वत पाङका टिकाराम पौडेल पैसा कमाउन पाकिस्तानको पंजाब पुगेको पाँच महिनासम्म पगार नपाएर पिडा खेप्दै रहेछन् । बुङ्कोट बाग्लुङका टिकाराम बराल बिहारमा व्यथाले च्यापेर बिरामी परेका सबैले बेवास्ता गरेपछि बेहाल भएका रहेछन् । टिकारामहरुको रामकहानी बुझेपछि म लागेँ गौतमहरुको गीता पल्टाउन तर्फ ।
गौतमहरुले पनि थोरै गोता पाएका रहेनछन् । गंगापूर गीतानगरका गिरीधारी गौतम गायक बन्छु भनेर गीतार सिक्दा सिक्दै गला बसेपछि गुमनाम भएछन् । हरिचोक, हटियाका हरिलाल गौतम हजार हजारका हात्ती कमाउन हस्तिनापूर पुगेपनि कहिले हरिद्धार त कहिले हिमाञ्चल गर्दै उतै हराएछन् । गौरादह गणेशटोलका गगन गौतम गिनीज बुकमा नाम लेखाउने गफ दिएर ग्राउन्डमा गेम खेलेपनि गोल गर्न नसकेर गोपाल गौलीको गाली खाएछन् । गौतमको यस्ता गतिबिधि पनि मैले धेरै हेरेँ गुगलबाट ।
तरपनि कास्कीको टिकाराम गौतम पढाउने पेशा गरेरै भएपनि परिवारको पेट पालेकै छ । मानो चामल मागेर खानुपरेको छैन । साथी धेरै भएनन् होला, सकेसम्म शत्रु चाहिँ कमाएको छैन । हैरान भएपनि हाँसेकै छ, खाइनखाइ भएपनि खुसी नै छ । बास्तविकतामा बसेर लेखेको ब्लग पढ्ने त बग्रेल्ती हुन्छन् तर कमेन्ट लेख्नेचाहिँ बिरलै.... यहि त छ बिडम्बना...।
3 comments:
spplack''टिकारम'' को बारेमा अनी ''गौतम'' [आफ्नो बारेमा ] को बारेमा अन्वेशण गरेउ , जिबनमा आफ्नो जस्तै नाम थर भयकाहरु बाट के कस्ता काम हरु भयका रहेछन जान्न खोजेउ ,अन्त्यमा आफ्नो यथार्थ बतायौ, राम्रो लाग्यो ,मन मा गडेको वाक्य चाहि '' सकारात्मक सोचका साथ अगाडी बढेको खण्डमा हात खुट्टा नहुने व्यक्तिले त जीवनमा हरेश नखाई अगाडी बढ्न सक्छन् भने, हामीसँग त सबथोक छ । हामीसँग नभएको कुरा हैन, भएको कुराबाट सोच्न वहाँले नै सिकाउनुभयो ।''
tikaram kahani ta maile pani dherai sune sir chinta nalinu tapima pani kala ko kami bhayeko ta ma dekhdina kina testa kura haru kelayera basnu bhayeko ke tapaiko kala bare kasaile bhanenan bhanera hola tapai ma pani dherai kala chhan manchhe lai hasaune dhekhi liyerar manchhe ko bhabisya ko barrema bataune kala ta charvhit nai chha ani aarulai shiksha badnu pani sano kala hoina sir kina .............?
Kada daju
Post a Comment